Coming Together to Heal.

कथाहरु

English | नेपाली

black butterfly

डरलाग्दो एक्लो जीवन 

यस कथाको रुमालमा सहभागीले १०-१५ वर्षको अन्तरालमा आफू धेरैजनाबाट धेरै पटक बलात्कृत भएको पीडा देखाउन खोजेको छ । बलात्कृत भएपछि आफूमा कस्तो असर पर्‍यो र समाजले आफूलाई हेर्ने नजरलाई यस कथाको रुमालमा देखाइएको छ । यस घटनाले गर्दा यस कथाको पात्र एकदम डराएकी थिईन् । ति घटना र परिस्थितिहरूले गर्दा उनले दिनहूँ नराम्रो सपना देख्न थालेको र उनी राम्ररी सुत्न नसकेको कुरालाई यस कथाको रुमालमा चित्रण गरेको छ ।

black butterfly

बिर्सन नसक्ने पलहरू

यस सहभागीको कथाको रुमालले काम गर्ने ठाउँमा हाकिमले आफ्नो कर्मचारीहरूसँग गर्ने द्रुर्व्यवहार देखाउन खोजिएको छ । विशेष गरी यस्ता दुव्र्यवहारहरू तब हुन्छ जब काम गर्ने मानिसहरू गरिब हुन्छन् । आफ्नो आमाले जस्तो रक्सी खाएर नराम्रो व्यवहार गर्दै हिड्यो भने आमालाई जस्तै उनलाई पनि कामबाट निकालिदिने धम्की कामको हाकिमले दिएका थिए । यस कथाको रुमालमा काम गर्ने ठाउँमा देखिने भेदभावलाई देखाइएको छ । बिगतका चुनौतिहरू सबैलाई सुनाउन पाउँदा एकदम आनन्द महसुस गरेको उनले बताइन् र बिस्तारै उनले यस कथाको रुमालमा आफ्नो कथा सकाइन् ।

 

black butterfly

कालो पुतली

यस साझा धागो कार्यक्रममा सहभागी भएपछि आफूलाई ट्रान्सम्यानको रुपमा स्वीकार गर्न सकेको सहभागीले बताए । सहभागीले आफ्नो मूल्य के हो समाजले होइन आफैंले निर्णय गर्न सक्नुपर्ने कुरा बुझेकोे बताए । कथाको रुमाल बनाउँदै जाँदा अन्त्यमा उनी एक आत्मविश्वासी व्यक्तिको रुपमा विकसित भए । उनले सशक्त महसुस गरेको र आफ्नो जीवनलाई रंगहीनबाट रंगीनमा परिवर्तन गर्न सक्षम भएको कुरालाई कथाको रुमालबाट प्रस्तुत गर्न खोजेका छन् ।

म र मेरो आशाहीन जीवन

यस कथाको रुमालमा सहभागीले आफू र आफ्नो आशाहीन जीवनको कथालाई चित्रण गर्न खोजेकी छिन् । बिहे हुनु अगाडि सम्म आफू धेरै खुसी भएको कुरा सहभागीले बताइन् तर बिहे पछि आफ्नो श्रीमान् को पहिलो श्रीमती र उनको छोरा आएर त्यही घरमा बस्न थालेपछि उनको जीवनमा कसरी परिवर्तन आयो भन्ने कुरालाई सहभागीले चित्रण गर्न खोजेकी छिन् । “यस्तो दुखको समयमा मैले आफ्नो पहिचान बिर्सिसकेँ । म आफैलाई म को हूँ भनेर सोध्छु ।……” सहभागीले समाज र परिवारमा आफ्नो पहिचान खोजिरहेको कुरा कथाको रुमाल मार्फत् भन्न खोजेको बताइन् ।

 

द्रुर्व्यवहार

यो कथा त्यो सहभागीको बारेमा हो जसलाई विद्यालयमा विद्यार्थीले मात्र होइन शिक्षकले पनि द्रुर्व्यवहार गरेका थिए । आमाबुवालाई यो कुरा सुनायो भने उहाँहरू दुखी हुन्छन् भन्ने सोचेर उनले आफू कुन पीडाले गुज्रिरहेको कुरा कसैलाई पनि भनेकी थिइनन् । यो पीडा सहन नसकेर उनले आत्महत्याको पनि प्रयास गरेकी थिइन् । विद्यालयको बारेमा सोच्दा उनलाई अझै पनि डर र चिन्ता लाग्छ । उनको कुरा सुनिदिएकोमा उनले साझा धागोलाई कृतज्ञता व्यक्त गरिन् ।

यो हात कलम समाउन होइन, हँसिया समाउन बनेको हो 

यो कथा एक बुढी आमाको हो जसको श्रीमान् वैदेशिक राजगारीमा हूँदा उनलाई एकदमै शंका गर्थे, उनको छोराले पनि रक्सी खान्थ्यो र उनलाई शंका गर्थ्यो । जसको श्रीमान् अहिले मानसिक रोगी भएका छन् र औषधी खाइरहेका छन् । यस कथाले एउटा महिलाको जीवनको कथालाई देखाउँछ, जो बाल्यकालमा खुशी थिइन् र गलत व्यक्तिसंग बिहे भएपछि कसरी परिवर्तन भयो भन्ने कुरालाई देखाएको छ ।

श्रीमान् बिनाको जीवन

“बच्चाहरू सानो हुँदा मेरो श्रीमान् बित्नु भएको थियो । त्यो बेला मेरो आर्थिक अवस्था निकै कमजोर थियो । मेरो श्रीमान् नभएकोले मान्छेहरूले मेरो कुरा काट्थ्यो । यही कारणले मैले मेरो बच्चाहरूलाई मार्ने र म पनि मर्ने सोचेँ ।…. ” यो कथा एक विधवा महिलाको हो, उसलाई समाजले हेर्ने नजरियाको बारेमा हो र उनी एकल महिला र एकल आमा भएकोले उनले समाजमा सामना गर्नुपर्ने चुनौतिहरूको बारेमा हो । उनी समाजसँग लडिरहे, उनले कहिले पनि हिम्मत हारेन, उनी विभिन्न महिला समूहहरूमा सहभागी भए र यसले उनलाई डिप्रसेनबाट बाहिर निस्कन मदत गर्यो । एकल महिलालाई हक र अधिकार दिने कानुन प्रति उनी कृतज्ञता व्यक्त गर्छिन् । आफ्नो छोरा, बुहारी र छोरी सँग उनी अहिले खुसी जीवन बाँची रहेकी छिन् ।

आमा र छोरीको एउतै दर्दनाक कथा

यो कथा स्तन क्यान्सरलाई हराएर बाँचेकी महिलाको बारेमा हो । उनको आमालाई पनि स्तन क्यान्सर भएको थियो र त्यस्तो दुखको समयमा उनको श्रीमान् र श्रीमान् को परिवार कसैले पनि साथ दिएको थिएन । स्तन क्यान्सर हुँदा उनले कस्तो महसुस गरे भन्ने बारेमा हो यो कथाको रुमाल । “मैले दुख पाएको देखेर मेरो दुबै छोरा दुखी हुन्छ भनेर चिन्ता लाग्थ्यो मलाई । स्तन क्यान्सर भएको थाहा भएपछि मैले डाक्टरहरूको सल्लाह लिए र त्यँही अनुसार उपचार पनि गरेँ । यस्तो समयमा पनि परिवारको कसैले पनि मेरो साथ दिएन । …….” यस्तो समय जब उनलाई परिवार र श्रीमान् को सबै भन्दा धेरै साथ चाहिएको थियो, त्यो बेला कसैले पनि उनको साथ दिएन । उनी क्यान्सरले मरे भने उनको श्रीमानले अर्को बिहे गर्ने बताएको थियो । यस कथाले हाम्रो समाजको क्रूरता देखाउँदछ, जब कोही व्यक्ति गाह्रो समयबाट गुज्रिरहेको हुन्छ तब कसैले पनि साथ दिदैन भन्ने कुरालाई देखाउँछ ।

जीवन एक कथा हो, सबैले आफ्नो भूमिका निभाउनुपर्छ

यो कथा आफ्नो श्रीमान् बाट शारीरिक र भावनात्मक शोषण सहीरहेकी महिलाको बारेमा हो । सम्बन्ध विच्छेद पछि समाजमा मान्छेले हेर्ने नजरको कारण धेरै जसो महिलाहरू हिंसात्मक सम्बन्धमा नै बसिरहने र सम्बन्ध विच्छेद गर्न हिचकिचाउने कथालाई यस कथाको रुमालले देखाउन खोजेको छ । यो अनुभव एकदमै दर्दनाक र पीडादायी भएको सहभागीले बताए । आफ्नो भविष्य डर, चिन्ता र अनिश्चितताले भरिएको जस्तो लाग्ने उहाँले बताए । उनको बच्चाहरू दिनहूँ हुने घरेलु हिंसाका साक्षी थिए र यस्ता घटनाले बच्चाहरूमा नराम्रो असर पर्छ भनेर उनी चिन्तित थिइन् । उनका विगतका दर्दनाक अनुभवहरू जस्तै द्रुर्व्यवहार, उपेक्षा र हानी आफैमा पीडादायी थियो । साझा धागोमा कथाको रुमाल बनाएपछि उनले भने , “हरेक सिलाइले मेरो पीडादायी अनुभवबाट मुक्त हुन मदत गरेको छ । ”